पर्यटन विकासमा भीमेश्वर नगरपालिका
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो । यहाँ सांस्कृतिक, ऐतिहासिक ,धार्मिक महत्वका धेरै सम्पदाहरु छन् । दोलखा हिमाली जिल्ला हो । हिउँले ढाकिएका सेताम्य पहाड,कहिल्यै नरित्तिने अथाह जलभण्डार, मनमोहक सौन्दर्यको हरियो वन, वनस्पति र जीव जन्तु आदिले भीमेश्वर नगरलाई सजाएको छ ।
दोलखा जिल्लामा ९ स्थानीय तह रहेका छन् । ती मध्ये भीमेश्वर नगरपालिका अग्रणी पालिकाको रुपमा रहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको भीमेश्वर नगरपालिका जिल्लाका अन्य पर्यटकीय स्थलको प्रवेश विन्दु पनि हो । महत्पपूर्ण धार्मिक आस्था बोकेको भीमेश्वर मन्दिरको नामबाट भीमेश्वर नगरपालिकाको नामाकरण गरिएको छ ।
जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भीमेश्वर मन्दिर अनि भीमेश्वरकै परिसरमा रहेको त्रिपुरा मन्दिर,चम्पुजा पार्क,मञ्जुश्री,महाङकाल मन्दिर,बुढाभीमसेन,टहलेश्वर महादेव,वृन्दावन यहाँका प्रमुख धार्मिक गन्तव्य मानिन्छन । यी स्थानहरुबाट रमणीय हिमाल र मनोहर प्राकृतिक दृष्य नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
भीमेश्वर नगरको मुटुमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चरिघ्याङ गुम्बाबाट हनुमन्ते डाँडा,सय वटा थुम्काहरुबाट बनेको शैलुङ्ग डाँडा, हिन्दूहरुको आराध्यदेव शिव र पार्वतीको प्रतीक मानिएको र नेपालको प्रमाणिक समय निर्धारक गौरीशंकर हिमालको दृष्यावलोकन सहजै गर्न सकिन्छ ।
च्छो रोल्पा हिमताल, राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी आयोजना, विश्वमै सबैभन्दा बढी सगरमाथा आरोहीहरु जन्माउने बेदिङ्ग गाउँ, सगरमाथाको प्रवेशद्वार र नेपालको ज्यूरिचको रुपमा चिनिने जिरी, प्राचीन तिब्बतसँगको व्यापारिक नाका लामाबगर,गौरीशंकर संरक्षण क्षेत्रजस्ता महत्वपूर्ण पर्यटकीय स्थलको भ्रमणको शुरुवात भीमेश्वर नगरपालिकाबाटै हुने गर्छ ।
भीमेश्वर नगरपालिका आफैमा पनि पर्यटकीय गन्तव्यले सम्बृद्ध मानिन्छ । दोलखामा राज्य गर्ने तत्कालीन राजा जयइन्द्रदेवसिंले पहिलो पटक चाँदीको सिक्का प्रचलन ल्याई सिक्का बनाउन निर्माण गरेको टक्सारघर,ऐतिहासिक दोलखा बजार, भीनपा वडा नं. ५ मा पर्ने खरीढुङ्गा म्याग्नेसाइटको विशाल भण्डार, अन्नपूर्ण, मनास्लु, गणेश र लाङ्गटाङ्ग हिमालदेखि गौरीशंकर, नुम्बुर हिमाल लगायत सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिने आहाल डाँडा र नजिकैको शिव मन्दिर भएको पोखरी, फिल्म नगरी बनाउने भनिएको स्थान डांगडुंगे डाँडा, विभिन्न जातजातिले बसोबास गरेको जातीय,धार्मिक,साँस्कृतिक विविधता,जनजातिका विविध संस्कार र संस्कृतिहरु भीमेश्वर नगरपालिकाका अमूल्य नीधि हुन् ।
साहसिक खेल, जल पर्यटनको लागि तामाकोशी नदी,स्की खेल,हाइकिङको लागि पदमार्ग हात्ती छहरा यहाँका साहसिक खेल र पदमार्गका लागि उपर्युक्त स्थान मानिन्छन् । खरिढुङ्गा,शिवपोखरी,डाङडुगें डाँडा,मयुरपार्क,पाण्डव पार्क,जिलु नमुना बस्ती,भ्युटावर,थामी सङ्ग्रहालय यहाँका थप आकर्षक र अनुपन पर्यटकीय महत्वले भरिएका स्थान हुन् । ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका सांस्कृतिको हिसाबले पनि समुन्नत छ । दोलखा जिल्ला र जिल्ला बाहिरका धेरै जातजातिको बसोबास रहेको नगरमा तामाङ्ग, नेवार, थामी, शेर्पा, जिरेल तथा यस जिल्लामा मात्र पाइने लोपोन्मुख सुरेल लगायत विविध जातजाति तथा भाषा सँस्कृतिको धनी यस जिल्लामा यी जातजातिहरूका आ–आफ्नो परम्परा, रीतिरिवाज, धर्म, भाषा, भेषभूषा, रहनसहन, जीवनशैली,जात्रा पर्वहरू छन् ।
जिल्लामा मनाइने प्रमुख चाडहरुमा दशैं, तिहार, ल्होसार, माघे संक्रान्ति, चैते दशैं, भीम एकादसी, जनैपूर्णिमा, तीज, धान्यपूर्णिमा, स्वस्थानी ब्रत पूर्णिमा, मातातीर्थ औंशी, गोकर्ण औंशी, गाईजात्रा, भैरवकुमारी जात्रा, भूमिपूजा आदि पर्दछन् । मारुनी नाच, झाँक्री नाच, लाखेनाच, शेर्पानाच, कृष्णलीला, खरिप्याँखन, बालन अन्य जातीय नाच (थामी, जिरेल, सूरेल, गुरुङ्ग, सुनुवार, तामाङ्ग) यस क्षेत्रका प्रचलनमा रहेका नाच हुन् । साँस्कृतिक पर्यटनको दृष्टिकोणबाट भीमेश्वर नगरपालिका अनुपम रहेको छ ।
अधिकांश नेवार जातिहरु रहेको भीमेश्वर नगरपालिका परम्परागत रीतिरिवाज, धर्म, भाषा, संस्कृति, भेषभूषा, रहन सहन, खानपिन, जात्रा पर्वहरू सहित स्थानीय मौलिक सँस्कृति देख्न सकिन्छ ।
दोलखा बजारमा बैशाख महिनादेखि शुरु हुने मच्छिन्द्रनाथको रथजात्रा, जनै पूर्णिमाको भोलिपल्ट निकालिने गाईजात्रा, जनै पूर्णिमा पछिको द्वितीयादेखि मनाइने भैरब कुमारी जात्रा, कृष्णाष्टमीको जात्रा, भाद्र शुल्क पक्ष द्वादशीको दिन मनाइने इन्द्रजात्रा, बडा दशैंमा निकालिने खड्गजात्रा, स्वस्थानी व्रतको अन्तिम दिन माघ शुल्क पूर्णिमाको दिन मनाइने सहश्रधारा बोक्ने जात्रा र फागु जात्रा हुन् । स्थानीय नाचहरुमा टवाकल प्याखंन (श्रीकृष्ण राशलीला), सा प्याखंन (गाईजात्रा नाच), लाखे नाच लोकप्रिय छन् ।
प्राकृतिक,साँस्कृतिक,ऐतिहासिक अनि धार्मिक सम्पदाले सिंगारिएको भीमेश्वर नगरको पर्यटन विकासका लागि चरिकोटको कोटीहोम स्थलमा वि.सं. २०४९ चैत्र मसान्तदेखि २०५० वैशाख मसान्तसम्म भएको कोटीहोम तथा अखण्ड दीप प्रज्वलित गरिएको यज्ञस्थल कोटीहोममा गुरुकुलको व्यवस्थापन,ध्यान केन्द्रको उपयोग गर्न सके धार्मिक पर्यटनको विकास गर्न सकिने देखिन्छ ।
दोलखा जिल्ला १० भन्दा बढी जनजाति भएको जिल्ला हो । यहाँका जातजातिका पहिचान,संस्कृति झल्काउने कला केन्द्र र साँस्कृतिक कला केन्द्रको विकास गर्न सके पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।
दोलखा जिल्ला कृषिमा उर्वर जिल्ला हो । भीमेश्वर नगरपालिकाको जिलु,वडा नं ७ को मकैवारी,चरिकोटका उच्च भूभागमा किवि खेती र खरिढुङ्गालाई आलु र तरकारी खेतीको विकास गर्न सके कृषि पर्यटनको पनि सम्भावना रहेको छ ।
दोलखा जिल्ला सहकारीको क्षेत्रमा पनि सफल र एसिया महादेशमा नै पहिचान बनाउन सफल छन् । सहकारीको व्यवस्थापन र प्रचार प्रसार गर्न सके सहकारी क्षेत्रको अध्ययन अवलोकनका लागि पनि पर्यटन विकासको सम्भावन प्रचुर रहेको छ ।
भीमेश्वर नगरपालिकाको आँगनमा नै रहेको गौरीशंकर बहुमुखी क्याम्पस विश्वविद्यालय निर्माणको अभियानमा छ । यो अभियानलाई सार्थकता दिन सके भीमेश्वर नगर शैक्षिक हवको रुपमा विकास गर्न सकिने अर्को सम्भावना रहेको छ ।
दोलखामा स्वर्गीय पशुपति चौलागाईँ प्रादेशिक अस्पताल सञ्चालनमा आएको छ । यो अस्पताललाई सुविधा सम्पन्न बनाउन सके जिल्ला र जिल्ला बाहिरबाट प्रसस्तै मानिसहरु आउने सम्भावना रहेको छ ।
धार्मिक पर्यटन विकासका लागि जनकपुर भीेमेश्वर बस सेवाको योजना बनेको छ । यसलाई कार्यान्वयन गर्न सके धार्मिक पर्यटनको विकास प्रचुर मात्रामा हुने थियो ।
भीमेश्वर नगरपालिमा पर्यटन विकासका लागि अझै धेरै कार्य गर्न जरुरी छ । पर्यटन प्रवद्र्धनका लागि यहाँका पर्यटकीय स्थलको निरन्तर अभियानका रुपमा प्रचार प्रसार अनिवार्य सर्त हो । यसैगरी होटल प्रणालीलाई सुधार गरिनुपर्दछ । पर्यटकीय स्थलसम्म व्यवस्थित सडकको व्यवस्थापन पनि पर्यटन विकासका लागि अनिवार्य देखिन्छ ।
स्थानीय सरकारले पर्यटकहरूलाई यातायात सुविधा र सुरक्षा प्रदान गर्नुपर्दछ । बनेका योजना मात्रै कार्यान्वयन गर्ने हो भने भीमेश्वर पर्यटकको महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना देखिन्छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...