सम्झनामा बाल्यकालको तीज
5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
विनिता शिवाकोटी
मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै गरेको,चपलीभरी मकै भाँचेर चाँङ लगाएको,वर्षातपछि केही आकाश खुलेको अनि राता साडी लगाएका चेलिवेटी घर माइती ओहोर दोहोरको रौनकले तीजको स्मरण गराउँछ ,
मेरो स्मरण पछिका तीज भन्ने वित्तिकै दर खाने र तीजको दिन आमा,दिदीवहिनीहरु जम्मा भएर नाच्ने समय भन्ने मनमा आइरहन्छ ।
दर शब्दले मलाइ अहिले पनि मेरी मुमाले पित्तले गहिरो कसौडीमा पकाएको नरम, गुलियो अनि मगमगी घीउको वास्ना आउने चाम्रे अनि आलु र स्थानीय बोडीका दाना मिसाइएको बिरौले तरकारी र आलु काँक्रोको अचारको सम्झना आउँछ ।
राति मुमाले हामी सबै छोराछोरी उठाएर निद्रामा नै खाएको चाम्रे,दही र तरकारीको सम्झना असाध्यै ताजा भएर आउँछ । त्यो बेलाको चाम्रेको स्वाद आज जति सिप लगाएर पकाउँदा पनि पाउन सकिएको छैन् ।
सबैको घरमा घडी पनि हुदैनथ्यो । हाम्रो घरमा मुमा उठेपछि माथ्लोघर अनि तल्लो घर,वल्लोपल्लो घर सबैलाई उठाउनुहुन्थ्यो । कति त विहान उज्यालो छिर्छ भनेर ध्वाँसीप्वालमा बुझो लगाएर पनि खान्थे रे भनेर पनि गाउँघरतिर भन्ने गर्थे । सबै उमेरका बालबालिका पनि दर खान खुव रहर गर्थे । कहिलेकाँही भाइ बहिनी राती उठ्न सकेनन भने भोलिपल्ट उठेर रिसाउँथे पनि । कति निद्रैमा खाएको थाहा नपाएर पनि रोएको कुरा सम्झेर अहिले आनन्दित हुन्छु ।
“दर खाने दिनमा राति उठेर घरमा केही नभएपनि पार्वतीलाई सम्झेर ३ अँजुली पानी भएपनि खानुपर्छ रे बाबै हो ।”स्वर्गीय बुढी फूपू हजुरआमाले भनेको स्मरणमा आउँछ । यद्यपि आजभोलि रातमा भने खाने चलन कम भइसकेको छ ।
विस्तारै विद्यालय पढ्ने भएपछि तीजहरु अझ रमाइला हुन लागे । तीज पर्वको अवसरमा नाच्ने,गाउने र नाटक देखाउने कार्यक्रम हुन्थे । हाम्रो घर नजिकै शिवाकोटीहरुका कुल देवता मानिने कालिनागको मन्दिर छ । त्यो बेला पुरानो मन्दिर थियो । त्यही मन्दिरको आँगनमा हामी तीज गीतमा नाच्ने,गाउँने र नाटक देखाउने कार्यक्रममा सहभागी हुन्थ्यौ । छोरीलाई सानै उमेरमा विवाह गरेपछि पाएको दुख,पढ्न नपठाएको,सासुले दिएको यातना जस्ता विषयमा गीत र नाटकका विषय बन्थे । हामी घरमा आमाहरुसंगका फरिया मागेर लगाएर अभिनय गथ्र्यौ । गीत गाउँथ्यौ अनि नाच्थ्यौ ।
त्यो समयमा अहिलेको जस्तो साउण्ड सिस्टमहरु थिएनन् । म जन्मेको ठाउँ सुनखानी पहिलेदेखि नै कला संस्कृतिमा धनी गीत गाउने,मादल बजाउने काम प्राय सबैले गर्थे । विहानदेखि बेलुकासम्म व्रतालु आमा र हजुरआमा उमेरका बढो जोशका साथ नाच्थे । “तीजको व्रतका दिन नाच्यो भने सुनका खुट्टा हुन्छ रे ।” भन्दै नाच्नुहुन्थ्यो ।
तीजको दिनलाई सबै जान्छन माइत
आपनो माइती मुग्लानपारी छैन साइत
त्यो बेलाका गीत सबैसंग बसेर गाउन सुन्न सकिने किसिमका हुन्थे । गीत सुनेर माइत आएका थुप्रै फूपू,दिदीहरु धरधरी रुन्थे । पीडा भुलाउँथे । नन्द, अमाजू, देवरानी, जेठानी, सासूले हेपेका, गाली गरेका, खान नदिएका,सौता ल्याएका,पेटभरी खान नपाएका विरहले भरिएका गीत गाउँथे । साँझ शिव पार्वतीका कथा समेटिएका गीत र श्लोकहरु गाउँथे ।
बेलुका घरमा फर्केपछि मुमाहरु केही खानुहुन्न्थ्यो । अहिलेजस्तो फलफूलको चलन थिएन । काँक्रो,नास्पाती,केरा जेजस्तो छ त्यो पनि खान दिँदैनथे । विहान अगस्तीको पूजा गरेर मात्र खाने चलन थियो । भोलिपल्ट विहानको खाना हामी सानै हुँदा बुबाले पकाउनुहुन्थो ।
त्यो बेलाका विवाहित आमा दिदीबहिनीले अहिलेको जस्तो नयाँ नयाँ साडी किनेर लगाउँदैनथे । मलाई मुमाहरुले भनेअनुसार र थाहापाएसम्म विवाहको साडी तीजमा लगाउनु पर्छ भन्ने थियो । सबैले आफ्नो स्तर अनुसार विहेका साडी र आफूसंग भएका गरगहना लगाउने चलन थियो ।
चतुर्थीको राति गाउँमा गलत काम गरे विगो (कसुर) नलाग्ने भन्ने भनाइ थियो । बारीमा भएका काँक्रा चोर्ने,घरघरको ढोकामा सिस्नो झुण्ड्याइदिने,दैलोमा गोबर राखेर उट्पट्याङ काम गर्थे । पञ्चमी विहानै धारामा गएर नुहाउने र पूजा लगाउने चलन थियो । यसरी तीजका दिनहरु समाप्त हुन्थे ।
आजभोलि तीजका संस्कारमा समयअनुसार परिवर्तन आएको छ । आज मेरी आमा र हजुरआमाको समयको जस्तो कठिन पनि छैन् । घाँसै काटेर तीज मनाउनुपर्ने दिदी बहिनीहरुपनि समयमिलाएर रमाउन सिक्न लाग्नु भएको । शहरमा मात्रै नभएर गाउँटोल बस्तीसम्म आधुनिक तीजको प्रभाव पर्दै गएको छ । आजको तीजको बारेमा सबै जानकार र परिचित छौ । हामी संस्कार र संस्कृतिप्रति सबै सचेत छौ र गर्व पनि गर्छाै । हाम्रो गौरवमय संस्कृतिको मौलिकता बचाइराख्न सबै लाग्न पनि जरुरी देखिन्छ ।
तीजको सबैसबैमा हार्दिक शुभकामना !
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...