भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

मौसम महाशाखाको चेतावनी, गृहले बेवास्ता गर्दा क्षति

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले बेमौसमी वर्षाबाट हुने सम्भावित जनधनको क्षति रोकथाम तथा नियन्त्रणका लागि पूर्वचेतावनी दिए पनि सरकारी निकायबाटै बेवास्ता गरेको पाइएको छ । महाशाखाको पूर्वानुमानअनुसार सम्भावित क्षति न्यूनीकरण एवं प्रतिकार्य योजना लागू गर्नबाट सरकार चुकेको हो ।

महाशाखाले दसैंको टीकाकै (असोज २९) साँझ असोज ३१ बाट मौसम बदली भई देशभर भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन भनेको थियो । सार्वजनिक बिदा परे पनि गृह मन्त्रालयमा अपराध अनुसन्धान तथा नियन्त्रण, प्रकोप व्यवस्थापनलगायत आपत्कालीन कार्यका लागि ‘रेस्पोन्स’ गर्न चौबिसै घण्टा संयन्त्र खुला रहने व्यवस्था छ ।

भारी वर्षाबाट निम्तिने जोखिमका कारण यात्रा र कृषि कार्यमा असर पुग्ने समेत महाशाखाको चेतावनी थियो । उक्त चेतावनी गृहमा बेलैमा पुगेको थियो तर त्यसलाई गम्भीर रूपमा नलिँदा बेमौसमी मनसुनबाट ठूलो जनधनको क्षति हुन पुगेको छ । सरकारले सावधानी अपनाउन सक्रियता देखाएको भए क्षति न्यूनीकरण गर्न सकिने अवस्था थियो । महाशाखाको पूर्वचेतावनीलाई विपद् रोकथाम तथा नियन्त्रणकै लागि गठन गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बेवास्ता गरेको पाइएको छ । जसका कारण बेमौसमी विपद्बाट सिर्जित बाढीले तराई/मधेस र पहाडी जिल्लामा हजारौं हेक्टरमा लगाइएको धानबाली नष्ट भयो । बाढी नदीतटीय क्षेत्रका बस्ती पस्दा जनधनको क्षति भयो । पहिरोको जोखिममा रहेका कतिपय बस्तीका मानिस समयमै सुरक्षित स्थानतर्फ जान नपाई ज्यान गुमाउन बाध्य भए ।

महाशाखाले भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३० बाट देशभर मौसम बदली भई विभिन्न जिल्लामा आंशिक र सामान्य वर्षा तथा असोज ३१ बाट केही दिन देशभर सामान्यदेखि पूर्ण रूपमा मौसम बदली भई धेरैजसो स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको औंल्याएको थियो । ‘उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहन अनुरोध छ, विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहनुहोला,’ महाशाखाको बुलेटिनमा भनिएको थियो ।

गृहले महाशाखाको पूर्वचेतावनीलाई किसानको पहुँचसम्म पुर्‍याएको भए काटेको धान सुरक्षित स्थानसम्म लैजान पाउने मौका रहन्थ्यो । पूर्वचेतावनीलगत्तै प्राधिकरणले देशभरका प्रशासन कार्यालयमार्फत पालिका र वडा तहसम्म भारी वर्षा र त्यसबाट निम्तिने जोखिमबारे सावधानी अपनाउन सचेत गराउनुपर्नेमा त्यसो भएन । बरु भारी वर्षा र त्यसले निम्तिएको बाढीपहिरोबाट बिहीबार बेलुकासम्म १ सय ४ जनाको ज्यान गइसकेको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले मौसम पूर्वानुमान महाशाखाबाट आउने पूर्वचेतावनी र सावधानीबारेको जानकारी राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत ‘अटोमेटिक रूपमा हेर्न मिल्ने’ भए पनि प्राधिकरणबाट जोखिम न्यूनीकरणका लागि छुट्टै रूपमा पत्र नआएको बताए । तर विपद्पछिको खोज, उद्धार र राहत व्यवस्थापनमा मन्त्रालय सक्रिय रूपमा लागिपरेको उनले दाबी गरे । ‘मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा खुला रहन्छ, प्राधिकरणबाट कुनै पत्र आएको थियो भने प्रशासनलाई यसबारे परिपत्र त भइहाल्थ्यो नि,’ पोखरेलले कान्तिपुरसँग भने, ‘तर विपद् जोखिम रोकथाम तथा नियन्त्रण र आवश्यक प्रतिकार्य योजना तर्जुमा गर्नकै लागि क्रियाशील विज्ञ संस्थाले पछिल्लो प्रकोप रोकथामका लागि पूर्वतयारी गर्न चुकेकै हो ।’

प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले प्रकोप न्यूनीकरणका लागि प्रतिबद्ध भएर लागिपरेको बताए । पोखरेलले विगतका जोखिम र जनधनको क्षतिबाट पाठ सिकेर प्राधिकरण प्रभावकारी प्रकोप व्यवस्थापनमा जुटेको दाबी गरे । दुई वर्षअघि सरकारले विपद् जोखिम रोकथाम तथा न्यूनीकरणका लागि छुट्टै प्राधिकरण गठन गरेपछि गृह मन्त्रालय ‘बेखुस’ देखिएको थियो । विपद्सम्बन्धी कामकारबाही र प्रतिकार्य योजना गृहअन्तर्गतकै संयन्त्रबाट हुने गरेका थिए तर प्राधिकरण गठनपछि विपद् व्यवस्थापनसम्बन्धी गृहको अधिकार बाँडफाँट भयो । गृहकै एक कर्मचारीले ‘मन्त्रालय–प्राधिकरण अघोषित द्वन्द्व’ का कारण कतिपय कामकारबाहीमा तालमेल नमिलेको बताए । ‘हालको बाढीपहिरो र डुबानमा पनि मन्त्रालय–प्राधिकरण समन्वय नभएको देखिन्छ,’ उनले भने ।

बाढीपहिरोबाट प्रभावितमध्येको बझाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहन अधिकारीले मौसम पूर्वानुमान र भारी वर्षाको जोखिमबारे गृह मन्त्रालय र प्राधिकरणबाट कुनै पत्र वा सर्कुलर नआएको बताए । ‘मौसम बदली भई वर्षा हुने र त्यसबाट निम्तिने जोखिमका साथै सम्भावित सावधानी अपनाउनेबारे मन्त्रालयबाट कुनै पत्र विपद् हुनुअगावै त आएन,’ अधिकारीले भने, ‘तर हामी आफैंले जोखिमबारे सावधानी अपनाउन सक्दो प्रयास गरेका हौं ।’

बाढी र डुबान प्रभावित जिल्ला कैलालीका सहायक प्रजिअ हिरालाल चौधरीले सकेको सावधानी अपनाएकै कारण कैलालीमा मानवीय क्षति हुन नपाएको दाबी गरे । तर भन्नेबित्तिकै धानबाली उठाउन सक्ने अवस्था नभएको उनको भनाइ थियो । महाशाखाको पूर्वजानकारीबारे उनले पनि अनभिज्ञता जनाए ।

विपद् व्यवस्थापन विज्ञ एवं नेपाल प्रहरीका पूर्वएआईजी ठूले राईले मौसम पूर्वानुमानसम्बन्धी ‘पूर्वचेतावनी’ लाई विपद् व्यवस्थापन न्यूनीकरण र व्यवस्थापनको दायित्व बोकेका निकायले गम्भीर रूपमा नलिँदा हरेक वर्ष जनधनको क्षति दोहोरिने गरेको बताए । ‘मौसम अदलबदल भई निम्तिने जोखिमबारे सावधानी अपनाउने र क्षति न्यूनीकरणका लागि सरकारले लक्षित वर्गसम्म प्रभावकारी रूपमा सन्देश प्रवाह नै गरेको पाइँदैन, सहरबजारमा बस्ने, टाठाबाठाले मात्रै सूचना पाएर हुँदैन, किसान र दूरदराजसम्म यसको पहुँच पुर्‍याउन आवश्यक छ,’ उनले भने, ‘खासगरी आकस्मिक विपद्बाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र भनेको कृषि, उद्योग, निर्माण, वन सम्पदा, पदयात्रामा निस्केका र जोखिमपूर्ण स्थानका बस्ती हुन्, मौसम पूर्वानुमान महाशाखाबाट जोखिमबारे दिइएका चेतावनीयुक्त विवरण यी क्षेत्रमा सहज प्रवाह भए मात्रै जनधनको क्षति रोक्न मद्दत पुग्छ ।’

बाढीपहिरोजन्य प्रकोपको वैज्ञानिक व्यवस्थापन नहुँदा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । सरकारले विपद्पछि खोज/उद्धार र राहत व्यवस्थापनमा सक्रियता देखाए पनि विपद्का घटना रोकथामका लागि पहिलै तदारुकता देखाउन सकेको छैन । जोखिमका बस्ती स्थानान्तरण गर्नेदेखि जोखिमयुक्त क्षेत्रमा मानव बस्ती/घर बनाउनै नदिने प्रतिबद्धता सरकारी तहबाट पटक–पटक भए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५ आर्थिक वर्ष र गएको साउनयताको ३ महिनामा देशभर बाढीपहिरोबाट मात्रै १ हजार १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । साउनयता मात्र १ सय ६५ जनाको ज्यान गइसकेको छ । यो संख्या ०७७/७८ मा ३ सय, ०७६/७७ मा १ सय ७५, ०७५/७६ मा ८५, ०७४/७५ मा २ सय १ र ०७३/७४ मा १ सय ६९ थियो । ‘बाढीपहिरोबाट मानिसको ज्यान जानु भनेको अकालको काल हो, यो अप्राकृतिक निधनलाई रोक्न सकिन्छ तर त्यहीअनुसार सरकारका सम्बन्धित निकायहरूको एकीकृत तदारुकता आवश्यक पर्छ,’ गृहकै एक सहसचिवले भने, ‘एउटाको मन्त्रालय वा निकायको प्रयासबाट मात्रै यो सम्भव छैन ।’

यो समाचार इकान्तिपुरबाट साभार गरिएको हो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.