२८ असारको बिहानै युवतीको परिवारले छोरीलाई काठमाडौं पुर्यायो । त्यो दिन अजितकी आमा कालीलाई पटक–पटक फोन आयो, घरि तेरो छोरालाई सम्हालेर राख् नत्र जेलमा सढाइदिउँला, उसलाई बलात्कारको मुद्दा चलाउन मिल्छ भन्थे । त्यो दिन घर वरिपरि अनौठा मान्छेहरु देखिए । हरिभक्तले घर वरपरमान्छे खटाएर पराजुली परिवारले निगरानी राखेको बताउँछन् ।
२९ असारको बिहान अजितले आमासँग रिचार्ज कार्ड किन्न एक सय रुपैयाँ मागे । दिउँसो करिब साढे १ बजे अजित घरबाट निस्किए । रिचार्ज किन्न गएको होला भनेर परिवारले वास्ता गरेनन् । तर, उनी बेलुका पनि घर फर्किएनन् ।
३० असारको बिहान हरिभक्तले पाँचखाल प्रहरी चौकीमा छोरो खोजतलासका लागि निवेदन दिए । तर, प्रहरीले दर्ता गर्न मानेन । दुई दिनपछि खबर आयो, धादिङ कुम्पुर गाविस वडा नं.–३, परेवाटारस्थित त्रिशुली किनार सडकछेऊमा रहेको दुई तले काठको प्रतिक्षालयमा एउटा शव झुण्डिएको अवस्थामा भेटियो । ‘दुवै खुट्टा आँटीमा टेकिएका थिए । जिब्रो टोकेको, मुख बन्द भएको तर बाहिर निस्केको जिब्रो कालो रहेको र लास खुम्चिएको थियो । त्रिपालको डोरी प्रयोग भएको । तर, घाँटीमा भएको डोरी कसिलो थिएन । नजिकै चौरमा दुई वटा वियरका बोत्तल, एउटा भोट्का, खाली गिलास र लेजको खाली प्याकेट,’ प्रहरीको मुचुल्कामा लेखिएको छ ।
दलित नागरिक समाजको अनुसन्धान प्रतिवेदन भन्छ, ‘डोरी तन्किएकै थिएन, गाँठो कस्सिएकै छैन । ऊ जसरी भेटिएको छ, त्यही ठाउँमा आफैँ झुन्डिएर मर्न सक्ने अवस्था देखिँदैन ।’
‘प्रहरीले पोस्टमार्टम गरेर गाडेको शव २ साउनमा निकालियो । तर शव चिरफार भएको थिएन,’ अजितका बुबा हरिभक्त भन्छन् । ३ साउनमा शव काठमाडौंको शिक्षण अस्पताल ल्याइयो । ४ साउनमा पुनः पोस्टमार्टम भयो । त्यसयता न्याय नपाउन्जेल अन्तिम संस्कार नगर्ने भन्दै परिवारले शव बुझेको छैन । उसो भए अजितको हत्या भयो कि आत्महत्या गरे त ? अजितको मृत्युसँग जोडिएर प्रहरीको जो भूमिका छ, त्यसले उनको हत्या भएकोतर्फ संकेत गर्छन् । प्रहरीको भूमिका नै शंकास्पद छ । शव बुझ्न गएका अजितका बुबा हरिभक्तलाई प्रहरीले पोष्टमार्टम रिपोर्ट देखायो । रिपोर्टमा मृत्युको कारण ‘झुन्डिएको’ भनेर स्पष्ट लेखिएको थियो । शवको खुट्टा भुँइमा टेकेको थियो । खुकुलो डोरीले घाँटीमा कस्सिएको समेत थिएन । घटनास्थल प्रहरीले ड्युटी गर्ने स्थान नजिकै थियो । प्रहरीको ड्युटी किताबमा टिपेक्स लगाइएको थियो, यतिसम्म कि त्यो राति डयुटी गर्ने प्रहरीको नाम समेत खुलेन । जबकि जहाँ अजित झुन्डिएको अवस्थामा भेटिए, त्यो प्रतिक्षालय दिउँसोभरि प्रहरीले प्रयोग गर्ने गर्थ्यो ।
‘यस्ता थुप्रै कुराहरु छन्, जहाँ प्रहरीको भूमिका शंकास्पद छ,’ मुद्दामा बहस गरेका अधिवक्ता मोहन साशंकर भन्छन् ।
बेवारिसे लास भनेर हतार हतार गाडेको प्रहरीले सम्बन्धित गाविसबाट अनुमति लिनुपर्ने व्यवस्था छ । लिएको भनेको थियो प्रहरीले तर, त्यसको जानकारी गाविसलाई थिएन । नागरिक समाजको प्रतिवेदन भन्छ, ‘प्रहरीले लासको सनाखत गर्न भन्दा लास गाड्नेतर्फ सक्रियता देखाएको छ, प्रहरीको भूमिकामाथि पनि अनुसन्धान हुनुपर्छ ।’ यी कुराहरुमा अनुसन्धान नै भएको छैन । गजुरी स्वास्थ्य केन्द्रका डा. अमृता श्रेष्ठले धादिङ अदालतमा हतार भएकाले शव चिरफार नगरी पोष्टमार्टम रिपोर्ट लेखेको स्वीकारेकी थिइन् । तर, कसको दबाबमा किन हतारमा रिपोर्ट लेखिन्, त्यसमा पनि अनुसन्धान भएको छैन ।
मुचुल्कामा त्रिपालको डोरीमा पासो लगाइएको भनिएको छ । र, त्यही त्रिपाल लास उत्खनन्मा शव बेरिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बयान दिएका छन् । यतिसम्म कि केन्द्रीय विधिविज्ञान प्रयोगशालाको औंठाछाप महाशाखामा पठाइएको सबुतको नमुनामा समेत त्रिपालको डोरी छैन । यो विषय पनि गौण बनाइयो । यीबाहेक प्रहरीले उजुरी नै नलिनुका कारण के–के हुन् ? भनेर कसैले अनुसन्धान नै गरेन ।
‘उसलाई छुटाउदादेखि हत्यासम्म प्रहरीको मिलेमतो छ, प्रहरीकै अघि तालाई माटोमाथि हिँड्न दिन्नँ भनिरहँदा प्रहरी किन चुप लागेर रमित हेरे ?,’ अजितकी आमा काली भन्छिन्, ‘बरु बलात्कारमै जेल हालिदिएको भए हुन्थ्यो, किन मार्नैपर्ने ? जेलमा बस्थ्यो, छोरो एक दिन घर आउँछ भन्ने त हुन्थ्यो ।’
मुद्दामा अर्को एउटा यस्ता पात्र छन्, जसलाई अजितको मृत्यु हुन्छ भनेर पहिल्यै थाहा थियो । ती व्यक्ति र युवतीको परिवारको नाता त होइन युवतीका पितासँग उनको मित्रता पुष्टि हुन्छ ।उनी काठमाडौंका कन्हैया कर्माचार्य हुन् । उनले अजित र उनकी आमाको मोबाइल नम्बर लिएर फोन गरेका थिए । वादीकै साक्षीका रुपमा उपस्थित भएकी किशोरीले अदालतलाई दिएको बयानमा भनेकी छिन्, ‘मेरो हात हेरेजस्तो गरेर उनले अजित मर्छ भनेका थिए । अजित र अजितको मम्मीसँग कुराकानी गरे । तर, के कुरा गरे थाहा भएन ।’
किशोरीले कर्माचार्यले के कस्तो भूमिका खेले ? भन्नेबारे आफूलाई शंका लागेको भनेर धेरै वटा क्लु दिएकी छिन्, अदालतमा ।कर्माचार्यले मर्छ भनेको पर्सिपल्ट नै अजितको शव भेटिएको थियो । तर, ती व्यक्ति न पक्राउ परे, न त अनुसन्धान नै भयो । ‘किशोरीको यो बयानले अजितको मृत्युमा यी व्यक्तिको प्रत्यक्ष संलग्नता हुनसक्ने संकेत गर्छ । तर, प्रहरीले यी व्यक्तिलाई साक्षीका रुपमामात्रै राख्यो, प्रतिवादी बनाएन,’ अधिवक्ता शाशंकरले भने ।
हजुरबाको जात घट्यो, नातिको ज्यान गुम्यो
हुन त यो परिवार एउटा त्यस्तो परिवार हो, जसलाई जात व्यवस्था र जातीय विभेदको प्रथाले पुस्तौँदेखि टुक्राएर छिया–छिया बनाएको छ । अजित त ढकाल पो हुन्, ब्राहृमण हुनुपर्ने, सार्की कसरी भए ? यहाँ सवाल उनी ब्राहृमण वा सार्की कसरी भए ? मात्रै हैन, समाजले उनी ब्राहृमण हुँदा र सार्की हुँदा कति फरक व्यवहार गर्छ ? भन्ने पनि छ ।
कुरा ५९ वर्ष अगाडिको हो, वतन र समाज पनि काभ्रे पाँचखालकै । कसुर पनि प्रेमकै हो । फरक यत्ति हो कि त्यसबेलाका रामबहादुर ढकाल ब्राहृमण थिए, अहिलेका अजित ढकाल सार्की । रामबहादुरले सार्कीकी छोरीसँग बिहे गरे, अजितले क्षेत्रीकी छोरीसँग । रामबहादुर बिहेपछि आफ्नो ब्राहृमणबाट सार्की नै हुनेगरि जात घटुवामा परे । तर, जीवनभर आफ्नो प्रेम बचाए ।आफूले दिएको सिन्दुरको रक्षा गर्नसके । अजितले आफू जिउँदो हुँदाहुँदै आफ्नी श्रीमतीको सिउँदो पुछिएको देख्न पर्यो । समाजको व्यवस्थाका अघि उनको प्रेम साबित भएन । त्यही व्यवस्थाले त पहिले उनकी श्रीमतीको सिउँदो पुछ्यो, पछि उनको जीवन । ऊ बेला रामबहादुरले आफ्नी बाटुली पाए । तर, जात गुमाए । अहिले अजितले न आफ्नो प्रेम पाए, न जीवन ।
यसको सुरुवात त उही बेला भएको थियो, जति बेला रामबहादुरले बाटुली सार्कीसँग विवाह गरे । ‘तल्लो जात’ सँग बिहे गरेर जात फालेको आरोप लाग्यो उनीमाथि । पञ्चायत बस्यो । उनको जनै चुडाल्यो । अबदेखि तँ ‘सार्की को हैसियतमा बस्नु भनेर उर्दी लगायो । परिवार र समाज त उनीहरुलाई गाउँ निकाला गर्न उद्दत थियो । तर, रामबहादुर र बाटुलीको बिन्तीले गाउँ छाड्नु परेन । त्यही दिनबाट सुरु भएको उनीहरुको जीवनभर अपमान, विभेद र तिरस्कारले कहिल्यै छाडेन । र अहिले अजितको मृत्यु पनि त्यसैको एउटा श्रृंखला हो, किनकि रामबहादुर र अजितको खुन एउटै हो । वंश एउटै हो । र, परिवार पनि एउटै हो । हरिभक्त उनै रामबहादुरका छोरा हुन्, र अजित नाति ।
अन्तरजातीय विवाह गर्दा हजुरबाको जातमात्रै घटाइयो । तर, नातिले मृत्यु भोगे । समयान्तर ५५ वर्षको मात्रै हो । ‘हामी समयसँगै मानिस सभ्य र विवेकशील भएको भन्छौँ । समाजमा विकास र परिवर्तन भएको ठान्छौँ । आखिर कस्तो परिवर्तन भएको हो त यो ?,’ उत्पीडित, उपेक्षित तथा दलित वर्ग उत्थान समितिका पूर्वनिर्देशक डा. बुद्धि नेपाली प्रश्न गर्छन्, ‘रामबहादुर र अजितहरुको प्रेम कसुरमा समाजले दिएको दण्डले के संकेत गरिरहेको छ ? समाज उकालो लागिरहेको छ कि ओरालो ?’
फरक त अरु पनि छन् ऊबेला र अहिलेमा । रामबहादुरले प्रेम गर्दा जात घटुवा गर्ने व्यवस्था थियो । ‘पानी अचल’ भनेर दलितलाई विभेद गर्ने राज्यको कानुन थियो । तर, अजितले प्रेम गर्दा प्रस्तावनामै जातीय विभेदमात्रै हैन, सबै प्रकारका विभेदको अन्त्य र सामाजिक न्याय सुनिश्चित समाजको परिकल्पना गरिएको संविधान छ ।
पहिले छुवाछुत गर्नेलाई प्रोत्साहन गर्ने कानुन थियो, अहिले दण्डित गर्ने कानुन छ । ऊ बेला पञ्चायती व्यवस्था थियो, अहिले गणतान्त्रिक राज्य व्यवस्था छ । पहिले शासकले जनतालाई सुन्दैनथे, अहिलेको शासन व्यवस्था नै जनताको प्रतिनिधित्वमा आधारित छ । चाहे त्यो जनआन्दोलन वा जनयुद्ध नै किन नहोस्, विभेद र दमनको प्रतिकारमा व्यवस्था परिवर्तनका लागि भनेर हजाराैं दलितको रगत बगेको छ । ‘के यी परिवर्तन भएका व्यवस्था, संविधान र कानुनहरु देखाउनका लागि मात्रै हुन् त ?,’ अधिवक्ता भुषाल प्रश्न गर्छन् ।
‘हामी दलितलाई कसैले मान्छे गन्दैनन्, नत्र मैले हुर्केको छोरो गुमाउनु पर्थेन, हत्यारालाई कारबाही गर्न अगाडि लास तेर्स्याएर अदालत धाउनुपर्थेन,’ हरिभक्त भन्छन्, ‘रुकुमपश्चिममा नवराजहरुले पनि भेरीमा बग्नुपर्दैन थियो ।’ यो समाचार अनलाइन खबरमा प्रकाशित रहेको छ ।