भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

शिक्षकले उथलपुथल ल्याउन सक्छन्

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

हाम्रो औपचारिक शिक्षा प्रणालीको अभ्यास अनुसार आफूलाई १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई विद्यालय हाताभित्र नियन्त्रित गरेर राख्ने जागिरेको रूपमा आफूलाई सीमित नराखी, कलिला अपरिपक्व बालबालिकालाई देशको असल नागरिक बनाउन जग बसाउने सवालमा आफ्नो पेशालाई जिम्मेवारीपूर्वक पूरा गर्ने शिक्षकहरू देशको सबैभन्दा बढी सम्मानित हुने वर्गमा पर्नुहुन्छ। मेरो निजी अनुभवमा तुलनात्मक रूपमा देशको कारिन्दाको हिसाबले सबैभन्दा नैतिक रूपले आफ्नो जिम्मेवारी पूरा गर्ने तपाईं शिक्षकहरू नै हो।

आदरणीय शिक्षकहरू, केही समय अगाडि नेपाल सरकारले शिक्षकहरूलाई पनि कर्मचारी सरह सेवासुविधा उपलब्ध गराउने भन्ने निर्णय गरेको समाचार आएको थियो। त्यो कुराले तपाईंहरूलाई पक्कै पनि केही खुसी थपेको छ। साथै शिक्षकहरूको लागि छुट्टै अस्पताल निर्माण गर्ने भन्ने समाचार पनि आएको थियो। यसले पनि कति शिक्षकलाई खुसी थप्यो होला र कतिलाई बेखुसी पनि बनायो होला।

बिहान–बेलुका छाक टार्न दैनिक मजदुरी गर्ने तथा अन्य निम्न आय भएका थुप्रै व्यक्तिले आर्थिक अभावले रोग पालेर बाँचिरहेका छिमेकीहरूको बीचमा निश्चित र नियमित आम्दानी भएका तपाईं शिक्षकहरूलाई आफ्नै लागि खोलिएको विशेष अस्पतालमा नि:शुल्क उपचार गर्न जान असहज महसुस पनि हुनसक्छ।

कर्मचारी सरह सेवासुविधा पाउनु स्वाभाविक हो र म त भन्छु त्यो अझै अपुग हो। पेशागत हिसाबले सबैभन्दा धेरै सेवासुविधा पाउनुपर्ने तपाईं शिक्षकहरू हो। यो कुराको औचित्यका लागि थुप्रै तर्क प्रस्तुत गर्न सकिन्छ। वास्तवमै भन्ने हो भने एउटा जिम्मेवार र नैतिकवान शिक्षकलाई राज्यले उचित सेवा र सम्मान दिनसकेको छैन र दूरदर्शिता नभएका, क्षणिक स्वार्थमा रमाउने व्यक्तिहरूको नेतृत्वको सरकारबाट त्यस्तो आशा गर्नु पनि निरर्थक हुन्छ।

आदरणीय शिक्षकहरू, सामान्य बुझाइमा कक्षाकोठाभित्र कुनै विषयमा विद्यार्थीलाई सहजीकरण गर्नु तपाईंहरूको मुख्य दायित्व हो। तर गहिरो विश्लेषण गर्ने हो भने एउटा कुशल शिक्षकले विषयगत शिक्षण बाहेक परिवर्तित विश्वमा एउटा असल नागरिक तयार गर्ने सवालमा अत्यन्तै महत्वपूर्ण र अमूल्य भूमिका निर्वाह गरिरहेको हुन्छ।

वास्तवमै भन्ने हो भने विषयगत ज्ञानभन्दा व्यावहारिक जीवनका कुराहरूसँग विद्यार्थीलाई जोड्न उत्प्रेरणा जगाउन मिहिनेत गर्ने शिक्षक नै महान शिक्षक हुन्।
आर्थिक रूपले सम्पन्न र आफ्नो परिवार बाहेक अन्यलाई वास्ता नगर्ने मानिसलाई हाम्रो घर समाजका व्यवहारले खासै फरक पर्दैन होला तर सामान्य नागरिक र आफू साथै आफ्नो परिवार बाहेक पनि सोच्ने र सुसंस्कृत समाजको अपेक्षा गर्ने हरेक नागरिकले घरबाट निस्केदेखि नै विभिन्न विकृतिहरूको सामना गरिरहनुपर्दछ।

दुर्गन्धित र अव्यवस्थित बाटोघाटो, अस्पताल तथा सरकारी कार्यालयहरूमा गरिने भेदभावपूर्ण व्यवहार, सार्वजनिक सवारीमा पाइने दुःख र लुटपाट, हत्या, हिसा, बलात्कार, लैंगिक, आर्थिक, जातीय तथा राजनैतिक आधारमा गरिने भेदभावका घटनाहरू दिनदिनै बढ्दै गइरहेको हामीले सुनिरहेकै, देखिरहेकै र भोगिरहेकै छौं।

निकै नै सभ्य मुलुकमा पनि खराब मानिसहरू हुँदारहेछन्। त्यस्ता मुलुकमा खराब मान्छे भन्दा नियम पालन गर्नेहरूको संख्या धेरै हुनाले नियमित कार्यसम्पादन अथवा काम–कारबाहीमा धेरै गाह्रो हुँदैन।

बाटोघाटो, गाउँ, समाज, विद्यालय, अस्पताल, प्रशासनिक कार्यालय लगायत स्थानहरूमा भइरहने अमानवीय तथा नकारात्मक अभ्यासहरूले पक्कै पनि मलाई भन्दा धेरै तपाईंलाई पोलिरहेको हुनुपर्छ। यी सबै गलत अभ्यासहरूलाई नियमनकारी निकाय हुँदाहुँदै पनि कतै पनि सुधार हुनसकेको छैन । यी गलत अभ्यासलाई घटाउँदै लैजान सक्ने स्रोतको रूपमा सबैभन्दा धेरै आशा र सम्भावना मैले शिक्षकहरूबाट देखेको छु।

यसरी पूरै विकृत भइसकेको समाजलाई आमूल परिवर्तन गर्न त्यति सजिलो छैन। राजनैतिक दलका घोषणापत्र र नेताको भाषणले केही हुने भए हामी विश्वका सुसम्पन्न मुलुकमध्येको एक देशको रूपमा चिनिने भइसक्थ्यौं। महान, वरिष्ठ लगायत विभिन्न उपाधि भिरेका नेताहरू, ठूला साना विभिन्न राजनैतिक दलहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू रात दिन लागिपरेर पनि केही सुधार गर्न नसकेको अस्तव्यस्ततालाई शिक्षकले कसरी समाधान गर्न सक्छन् ? तपाईंहरूलाई आफ्नो क्षमतामा प्रश्न उठ्न सक्छ।

तर यो सम्भव छ र अहिलेको अस्तव्यस्ततालाई हेर्दा स्वच्छ र सभ्य समाज निर्माण गर्ने सवालमा सबैभन्दा प्रभावकारी भूमिका शिक्षकहरूको हुन सक्छ । यस्तो परिवर्तन तुरुन्तै प्रतिफल दिने नहुन सक्छ तर पुतली प्रभाव (बट्टरफ्लाई इफेक्ट अर्थात् सामान्य जस्तै देखिने मानवीय व्यवहारले लामो समय पश्चात वातावरणमा अकल्पनिक नतिजा निम्त्याउन सक्ने सम्भावना) जस्तै शिक्षकहरूको सामान्य प्रयासले सभ्य समाजको निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छ।

कुशल शिक्षक हुन थुप्रै कुरामा सतर्क हुनुपर्छ भन्ने कुरा म स्वयंले पनि भोगेको छु महसुस गरेको छु। भाषिक, सांस्कृतिक, आर्थिक लगायत थुप्रै विविधतामा हुर्किएका अनि फरक-फरक बौद्धिक क्षमता भएका विद्यार्थीलाई एकै ठाउँमा राखेर सफल जिन्दगीको लागि मार्गदर्शन गर्नु चानचुने कुरा होइन।

यो कुरालाई आधार मान्ने हो भने तपाईंहरू विज्ञको पनि विज्ञ हो। एउटा विज्ञ डाक्टरले एउटा निश्चित रोगको उपचार गर्छन्। त्यस्तै फरक-फरक क्षेत्रका विज्ञहरूले आफ्नो अधिकतम लगानी आ-आफ्नो क्षेत्रमा मात्र गरिरहेका हुन्छन्।

तपाईं शिक्षकहरू त विभिन्न क्षेत्रका विज्ञहरूलाई त्यो तहसम्म पुग्नको लागि ज्ञानको जग बसाइदिने र उत्सुकताको बीउ रोपिदिने जिम्मेवार व्यक्ति हो। अपवाद बाहेक लगभग सबैजसो विज्ञहरू निश्चित समय शिक्षकहरूसँग गुजारेका हुन्छन्।

यसरी हेर्दा समाजका हरेक उत्कृष्ट उत्पादनमा कुनै न कुनै रूपमा शिक्षकको प्रभाव परेको हुन्छ। अर्थात् लगभग सबैजसो विज्ञहरूलाई सुरुवाती बाटो देखाइदिने बहुविज्ञ तपाईं शिक्षकहरू हो।

तपाईंहरूको यस्तो गहन एवं महान जिम्मेवारी समाज तथा राज्यले नचिने पनि तपाईं आफ्नो भूमिकामा स्वयं गर्व गर्न सक्नुहुन्छ। किनकि तपाईं हामीले आर्जन गरेको ज्ञानले हामीलाई आत्मसम्मान गर्न सिकाएको छ।

देश समृद्ध बनाउने अभियानमा देशका हरेक नागरिकको कुनै न कुनै दायित्व र भूमिका हुन्छ। हामीले देखिरहेको र भोगिरहेको देशका हरेक क्षेत्रमा व्याप्त अस्तव्यस्तता र जिम्मेवार व्यक्तिहरूको गैरजिम्मेवार तथा निकृष्ट खालका अभिव्यक्ति र क्रियाकलापहरूलाई गहिरिएर नियाल्ने हो भने कार्यरत जिम्मेवार व्यक्तिहरूबाट समृद्ध देशको कल्पना गर्नु निरर्थक जस्तै लाग्दछ।

लगभग सबैजसो क्षेत्रमा व्याप्त भ्रष्टाचार, ठगी, गुण्डागर्दी, जालझेल लगायत कुराहरू घट्दै गएर विलिन हुने कुनै सम्भावना देखिंदैन। यसरी सम्हाल्नै नसक्ने गरी झाङ्गिएको अनुशासनहीनता, विवेकहीनता र अराजकतामा रमाइरहेको समाजलाई अनुशासित, विवेकशील र पद्धतिमा चल्ने बनाउन निकै कठिन देखिन्छ।

यस्तो कहालीलाग्दो वातावरणमा व्यापक परिवर्तन गरी सभ्य नागरिक उत्पादन गरेर समृद्ध देश बनाउने अभियानमा जग राख्ने सवालमा सबैभन्दा धेरै योगदान गर्न सक्ने सम्भावना र अपेक्षा मैले शिक्षकहरूबाट देखेको छु।

झन्डै ५/६ वर्ष पुगेपछि लगभग सबैजसो बालबालिका विद्यालय अर्थात् शिक्षकहरूको सम्पर्कमा जाने गर्दछन्। सामान्य शारीरिक र भाषिक विकासपछि, मानसिक विकास सँगसँगै परिवर्तनशील समाज, देश र विश्वमा उनीहरूलाई सहज समायोजन गर्न योग्य बनाउने उद्देश्यका साथ विद्यालय पठाइएका अबोध र जिज्ञासु बालबालिकालाई विषयवस्तुको ज्ञानको लागि सहजीकरण गर्ने सँगसँगै उनीहरूलाई नैतिकवान र सभ्य नागरिक बनाउने सवालमा सकारात्मक सोच, सकारात्मक ऊर्जा र सकारात्मक अभ्यासको बीउ रोप्ने अमूल्य काम सबैभन्दा प्रभावकारी रूपमा तपाईं शिक्षकहरूले गर्न सक्नुहुन्छ।

सामान्य अवस्थामा कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई नराम्रो होस् भनेर चाहँदैनन् र सिकाउँदैनन् होला पनि। तर व्यापारीले आफ्ना छोराछोरीहरूलाई धेरै नाफा नभए पनि ‘ग्राहकलाई सेवा गर्नु हाम्रो धर्म हो’ भनेर कमैले सिकाउलान्। भ्रष्टाचारी अभिभावकले आफ्ना सन्तानलाई आर्थिक पारदर्शिता सिकाउने कुरा पनि सहजै विश्वास गर्न सकिंदैन।

त्यसैगरी पढे–लेखेका अभिभावकले आफ्ना सन्तानलाई उनीहरूको चाहना र क्षमता भन्दा पनि सकेसम्म डाक्टर, इन्जिनियर अथवा अफिसर नै बने हुन्थ्यो भन्ने आशाअनुसार दबाब दिइराखेको देख्न पाइन्छ। तर तपाईं शिक्षकहरू अभिभावकहरू भन्दा फरक र अझ धेरै विद्यार्थीमैत्री हुनुहुन्छ । अर्थात् विना स्वार्थ र विना अपेक्षा उनीहरूको क्षमता र चाहना अनुसार उत्प्रेरणा दिनु तपाईंहरूको मूल धर्म हो।

समाजका हरेक उत्कृष्ट उत्पादनमा कुनै न कुनै रूपमा शिक्षकको प्रभाव परेको हुन्छ। अर्थात् लगभग सबैजसो विज्ञहरूलाई सुरुवाती बाटो देखाइदिने बहुविज्ञ तपाईं शिक्षकहरू हो।

मैले शोधपत्र तयार गर्ने क्रममा लगभग सबैजसो कोणबाट सम्पन्न मानिने देश नर्वेमा उच्च माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूलाई, ‘विद्यार्थीलाई मार्गनिर्देशन गर्ने सवालमा तपाईंहरूको भूमिका कस्तो हुन्छ?’ भनेर सोधेको थिएँ। शिक्षकहरूको भनाइ अनुसार विद्यालय जीवनको अन्त्यमा रहेका विद्यार्थीलाई परनिर्भरताबाट आत्मनिर्भर जीवन सुरु गर्न उनीहरूको क्षमता र चाहना अनुसारको क्षेत्रमा काम गर्नको लागि उत्प्रेरणा दिने शिक्षकको मुख्य भूमिका हुन्छ।

यसरी विद्यार्थीलाई मार्गनिर्देश गर्ने सवालमा अभिभावकको भन्दा शिक्षकको ठूलो र प्रभावकारी भूमिका हुन्छ भन्ने शिक्षकहरूको दाबी थियो । यो सवालमा उनीहरूको मुख्य तर्क थियो- ‘अभिभावकहरू आफ्ना सन्तानबाट केही अपेक्षा राखेका हुन्छन् र सोही अनुसार सल्लाह दिन्छन् तर हामी शिक्षकहरू विद्यार्थीको चाहना र क्षमता पहिचान गर्ने कोसिस गर्दछौं र सोहीअनुसार मार्गनिर्देश गर्दछौं।’

मूलतः हाम्रो शिक्षाको उद्देश्य विभिन्न क्षेत्रका विज्ञहरू उत्पादन गरी सहज जीवनयापन गर्न सक्षम बनाउने छ। यसरी उत्पादित हाम्रा थुप्रै बेरोजगार प्रमाणपत्रधारीहरू देश विदेशमा कामको खोजीमा भौंतारिइरहेका छौं। तर उनीहरूले परिवर्तित तथा अनिश्चित विश्वमा जीवनयापन गर्न सक्ने नागरिक उत्पादन गर्ने रहेछ। अर्थात् विज्ञता सँगसँगै समय र परिस्थिति अनुसार आफूलाई समायोजन गर्न कुनै संकोच नमान्ने नागरिक उत्पादन गर्ने उनीहरूको शिक्षाको मुख्य उद्देश्य छ।

समृद्ध देशका अधिकांश नागरिकको सोचाइ पनि समृद्ध भएजस्तो अनुभूति हुन्छ। छिटफुट देखिने उद्दण्ड व्यवहार बाहेक विद्यालय तथा अन्य सार्वजनिक स्थानहरूमा बालबालिका तथा अभिभावकहरूको व्यवहार पनि अनौठो लाग्छ हामीलाई।

सकेसम्म अरुलाई असर नगर्नु, अरुको सम्मान गर्नु, सम्भव भएसम्म अरुलाई सहयोग गर्नु, अरुका चिजबिजको आशा नगर्नु र डाहा पनि नगर्नु जस्ता कुराहरू हामीले अभ्यास गरेभन्दा बिल्कुल फरक देखिन्छन्। हाम्रो लागि उनीहरूका सबै व्यवहार राम्रा नहुन सक्छन् तर स्वच्छ सामाजिक जीवनको लागि उनीहरूले हामीले भन्दा सफा हृदयले अभ्यास गरिरहेको जस्तो आभास हुन्छ।

आदरणीय शिक्षकहरू मैले तपाईंहरूलाई असाध्यै धेरै मिहिनेतको लागि पनि अनुरोध गरेको छैन। तपाईंहरूको नियमित शिक्षण क्रियाकलापमा अलिकति ध्यान दिने र आफूलाई एउटा आदर्श नागरिक (मोडेल) को रूपमा प्रस्तुत गर्ने हो भने मात्रै पनि त्यसले तपाईंहरूको सम्पर्कमा वर्षौं गुजार्ने विद्यार्थीमा धेरै परिवर्तन ल्याउन सक्छ। त्यसले विद्यालय, घर र समाज हुँदै राष्ट्रियस्तरका विभिन्न क्षेत्रमा विस्तारै परिवर्तन ल्याउन सक्दछ।

हामीले अँगाल्दै आएका कतिपय गलत अभ्यासहरूलाई हटाउनै पर्ने हुन्छ । प्रतिस्पर्धाको सट्टामा सहयोगको आदान–प्रदानको अभ्यास सुरु गराऊँ । आफूलाई उत्कृष्ट सावित गर्न खोज्नु मानवीय स्वभाव हो। तर अंकको उत्कृष्टता मात्र सबैथोक होइन भन्ने कुरा विद्यार्थीलाई बुझाऊँ।

उस्तै क्षमताका थुप्रै विद्यार्थी छन् भने सबैलाई समान हैसियत दिनु राम्रो विकल्प हुन सक्छ एउटा पहिलो अर्को दोस्रो भनेर विभाजन गर्नुभन्दा कुनैलाई एक पक्षमा पहिलो र अन्यलाई अरु पक्षमा पहिलो मान्ने उपाय उपयुक्त हुन सक्दछ। अर्थात् जान्ने मध्येका सबैलाई पहिलो बनाइदिऊँ।

आदरणीय शिक्षकहरू, विद्यालय परिसर भित्रबाट नै विद्यार्थीमा असल व्यवहार/अभ्यासको छाप पारिदिन सुरु गरौं। विद्यार्थीले, पुरुष र स्त्री अर्थात् शारीरिक रूपमा लैंगिक भिन्नता बाहेक हामी सबै एकै हौं भन्ने आभास गरून् अर्थात् समाजमा व्याप्त विभिन्न शीर्षकमा हुने भेदभावहरू उनीहरूले कल्पनै नगरून्। जान्ने, नजान्ने अथवा अभिभावकको हैसियत लगायत कुनै पनि कुराको आधारमा विद्यार्थीलाई फरक महत्व दिनुहुँदैन।

सानैदेखि विद्यार्थीलाई एक अर्कोप्रति सम्मान गर्न सिकाउनुहोस्। उनीहरूलाई आफ्नो भलो नचाहने शत्रुलाई पनि सम्मान गर्न सिकाऔं। शिक्षक स्वयंले उनीहरूलाई संबोधन गर्दा आदरार्थी शब्द प्रयोग गर्नु राम्रो हुन सक्छ। उनीहरूलाई सानैदेखि साँचो बोल्न सिकाउन प्रयास गरौं।

हामीले दैनिक जीवनमा नियमित झुट बोलिरहेका हुन्छौं। ती झुटका अभ्यासहरू तपाईं आफैं महसुस गर्नुस्, मनन गर्नुस्। विद्यार्थीले गृहकार्य नगरेमा कुनै वहाना नबनाई निर्धक्कसँग जे कारण हो त्यही कारण भन्न सक्ने वातावरण बनाऔं। अल्छी लागेर, धेरै बेर खेलेर समय नपुगेर, बाबा ममी झगडा गरेर अर्थात् जे कारण हो त्यही नै भनून्। अहिलेका नेताहरूले जस्तै भोलिका नेताले पनि नियमित झुटको अभ्यास नगरून्।

आदरणीय शिक्षकहरू एकले अर्कालाई सम्मान गरे सँगसँगै एकअर्काको कामलाई पनि सम्मान गर्न सिकाउनु जरुरी छ अर्थात् सबै काम/जागिर उत्तिकै सम्मानयोग्य छन्। यो कुरालाई पनि तपाईं हाम्रै अभ्यासले प्रभाव पार्न सकिन्छ। तसर्थ, घन्टी बजाउने बेलामा आफू घन्टी नजिकै छौं भने पियनलाई नै घन्टी बजाउन कुरिरहनु आवश्यक छैन।

केही काम गर्दा फोहोर भयो र तुरुन्त सफा गर्नु पर्‍यो भने सम्भव भएको अवस्थामा तपाईं हामी आफैं झाडु कुचो लिएर सफा गर्न सुरु गर्नुले तपाईंलाई नियालिरहेका विद्यार्थीलाई कुनै न कुनै रूपमा प्रभाव पार्न सक्दछ।

हाम्रा सबै विद्यार्थी कुनै विषयका विज्ञ हुन्छन् भन्ने निश्चितता छैन र जरुरी पनि छैन तर सकेसम्म सबै असल नागरिक हुनु जरुरी छ। अर्थात् आफ्नो विज्ञता तथा पेशा बाहेक जीवनमा आइपर्न सक्ने कुनै पनि अवस्थामा आफूलाई सजिलै समायोजन गर्न सक्ने हुनु परिवर्तनशील समाजको आवश्यकता हो।

केही वर्षको यूरोप बसाइमा मैले विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरूसँग विभिन्न प्रकृतिका कामको अनुभव लिएको छु। म तारे होटलको प्रबन्ध निर्देशकसँग भाँडा माझेको छु। ध्वनि इन्जिनियरसँग सामान ओसारपसार गर्ने काम गरेको छु। आर्किटेक्ट इन्जिनियरलाई सिमेन्ट मुछ्न सहयोग गरेको छु। मेकानिकल इन्जिनियरलाई रङ लगाउनको लागि भित्ता सफाइ गर्न सहयोग गरेको छु।

यी संयोगले मलाई आफूलाई आफ्नै विज्ञतामा सीमित राख्नु कुनै महानता होइन भन्ने कुरा राम्रोसँग सिकाएको छ। सामान्य भाषामा नैतिकता भनेको नीतिको पालना गर्नु हो। नीतिको पालाना नहुने ठाउँमा पद्धति (सिस्टम) को विकास गर्न सकिंदैन र पद्धतिविना विकास सम्भव हुँदैन।

धेरै मानिसमा नैतिकता र अनुशासनको खडेरी नै परेजस्तो अहिलेको अवस्थामा परिपक्व नभैसकेका लाखौं कलिला दिमागमा नैतिकता र अनुशासानको बीउ रोप्ने अत्यन्तै महान काम आदरणीय शिक्षकहरूबाट हुन सक्दछ। यस्तो महान र सम्माननीय भूमिका निर्वाह शिक्षकहरूलाई त्यही अनुसारको सम्मान र व्यवहार गर्न सक्ने स्तरको चेतना र क्षमता वर्तमान राज्य संचालक र राज्यका विभिन्न निकायका जिम्मेवार व्यक्तिहरूसँग छैन। तर तपाईंहरू नआत्तिनुस्, तपाईंहरूको मिहिनेत र योगदानको फल छिट्टै पाउनुहुनेछ।

आदरणीय शिक्षकहरू, धेरै जनामा विषयवस्तुको ज्ञान भए पनि विवेकको खडेरी छ। विभिन्न क्षेत्रका विवेकहीन विज्ञहरूले हामीलाई तड्पाइरहेका छन्। देशका ठूला ठूला भ्रष्टाचारमा संलग्न तथा भ्रष्टाचार र अनियमिततालाई मलजल गर्ने अधिकांश व्यक्ति हाम्रो परीक्षा प्रणाली अनुसार अब्बल सावित हुँदै गएकाहरू नै हुन्। त्यस्ता विज्ञहरू हामीलाई चाहिने भन्दा पनि धेरै भइसके।

तपाईंहरूले सिकाएका सबै विद्यार्थी हाम्रो परिवेशले उत्कृष्ट मानिएका क्षेत्रमै जागिर खानु वा विज्ञ हुनु भन्ने कुनै जरुरी छैन। विद्यार्थी जुनसुकै क्षेत्रमा लागे पनि नैतिक र विवेकशील हुनु अझ धेरै महत्वपूर्ण कुरा हो। आत्मनिर्भर बनाउनको लागि उनीहरूको चाहना र क्षमता अनुसारको विद्यामा नै अगाडि बढ्न उत्प्रेरणा दिनु एउटा असल शिक्षकको धर्म हो।

निकै नै सभ्य मुलुकमा पनि खराब मानिसहरू हुँदा रहेछन्। त्यस्ता मुलुकमा खराब मान्छे भन्दा नियम पालन गर्नेहरूको संख्या धेरै हुनाले नियमित कार्यसम्पादनमा अथवा काम कारबाहीमा धेरै गाह्रो हुँदैन। हामीकहाँ नियममा चल्ने भन्दा नियम विपरीत व्यवहार गर्नेको संख्या धेरै भएकोले हरेक क्षेत्र विकराल जस्तै देखिन्छ।
आदरणीय शिक्षकहरू तपाईंहरूको आजदेखिको प्रयासले पक्कै पनि यो संख्यालाई उल्टो बनाउनेछ। हामीले धेरै कुराहरू (बानी व्यवहारहरू समेत)अन्य मुलुकबाट आयात गरिरहेका छौं। अब छिट्टै नै विश्वका सबैभन्दा सभ्य र विवेकशील मानिस नेपाली भनेर विश्वले चिन्ने कुराको आशा गर्नु सम्भव नहोला र ?

अधिकांश नागरिकमा अहिले नैतिकता र अनुशासनको खडेरी बढ्दै गइरहेको छ। यसले समाज, देश र विश्वलाई नै समस्या थपिरहेको हुन्छ। नैतिक शिक्षा चाहिंदैन भनेर पाठ्यक्रमबाट हटाइसकेको भए पनि यसलाई कुनै न कुनै माध्यमबाट सिकाइमा समावेश गरिनु अत्यन्त जरुरी छ।

कक्षा भित्र र बाहिरका विभिन्न क्रियाकलापमा विद्यार्थी स्वतन्त्रताको विषयमा बहस भइरहन्छ। तर अनावश्यक स्वतन्त्रता ठीक होइन भन्ने कुरा अहिले सचेत विश्वले महसुस गरिरहेको छ। नियन्त्रणविहिन स्वतन्त्रताले सामाजिक स्वच्छता भन्दा धेरै विकृति निम्त्याउने कुरामा कमै मानिस असहमत होलान्। त्यसैले सकेसम्म नियन्त्रित स्वतन्त्रताको अभ्यास गराऔं।

विद्यार्थी अनुशासित हुनु जरुरी छ। धेरै विद्यार्थीलाई अनुशासनको कुरा गरेको मन पर्दैन। यो कुरालाई राम्रोसँग बुझाउनु जरुरी छ। चुप लागेर बस्नु वा हल्ला नगर्नु मात्र अनुशासन होइन। हरेक ठाउँमा निश्चित नियम हुन्छन्। तिनै नियमहरू पालना गर्नु अनुशासन हो। तर आफू अनुशासित भए मात्र विद्यार्थीमा त्यही खालको व्यवहारको आशा गर्न सकिन्छ।

समूहमा खराब पहिचान बनाएका विद्यार्थीलाई समूहमा नभई छुट्टै स्थानमा राखेर अथवा अभिभावकसँग राखेर सम्झाई–बुझाई गर्नु उपयुक्त हुन सक्छ। सकेसम्म भौतिक कारबाही बन्द गरौं। विभिन्न स्वभाव भएका विद्यार्थीको अगाडि संयमित भएर आफ्नो भूमिका निर्वाह गर्न सक्नु पनि निकै नै ठूलो कुरा हो।

हाम्रो देशका शिक्षकहरू संवेग नियन्त्रण गर्ने सवालमा अझै कमजोर छौं कि जस्तो महसुस हुन्छ। धेरै विविधता र विद्यार्थी संख्या पनि शिक्षकलाई आक्रोशित हुने परिस्थिति सृजना गर्ने कारण हुनसक्छन्। यी सवालहरूलाई छिचोल्दै आफ्नो नियमित अध्यापन अघि बढाउनु नै तपाईं शिक्षकहरूको महानता हो ।

आफूले पालना गर्न नसकेको कुरा अरुबाट आशा गर्न सुहाउँदैन। आफ्नै कमजोरीले थुप्रै शिक्षकलाई आफ्ना विद्यार्थीलाई नियम पालनाको लागि अनुरोध गर्न असहज हुन सक्छ। त्यस्तो असहजतासाथ यो पेशामा निरन्तरता दिनु महाअपराध हो। एउटा डाक्टरको गलत अभ्यासले कुनै एक बिरामीको ज्यान जोखिममा पर्न सक्छ। तर एउटा शिक्षकको खराब अभ्यासले धेरै कलिला दिमागमा नकारात्मक असर पर्न सक्छ।

मैले शिक्षकका थुप्रै संगठनको नाम सुनेको छु। कुनै संगठनमा आफ्नो पहिचान नहुँदा संगठनमा सम्मिलितहरूले गर्ने भेदभावपूर्ण व्यवहार म आफैंले भोगेको पनि छु। संगठनका सम्मेलनहरूको समाचारहरू पनि सुनेको छु। अधिकांश त्यस्ता सम्मेलनहरूमा सेवासुविधा प्राप्तिका लागि आन्दोलन मुख्य उपलब्धि र योजनाको रूपमा पारित गरिएको भनेर सुन्न वा पढ्न पाइन्छ।

मैले शिक्षकका संगठनका कुनै पनि सम्मेलनले शिक्षण सिकाइ प्रभावकारी बनाउने सवालमा बहस गरेको समाचार अहिलेसम्म सुनेको छैन। त्यसैगरी विद्यालयभित्र नै सजिलै आभास हुने गरी दलीय राजनीतिमा लाग्ने शिक्षकहरू पनि थुप्रै रहेको सुन्न पाइन्छ। यी कुरालाई आधार मान्ने हो भने मैले आदरणीय शिक्षकहरूलाई देशको सबैभन्दा जिम्मेवार र नैतिकवान कारिन्दाको संज्ञा दिएकोमा आपत्ति हुन सक्छ र अरुलाई भन्दा अझ राम्रो सेवासुविधा उपलब्ध गराउनुपर्छ भन्ने तर्क पनि अपाच्य हुन सक्छ।

त्यसैले आदरणीय शिक्षकहरूलाई यो मेरो विनम्र अनुरोध हो। तपाईंहरूको आदर्श व्यवहार लाखौं कलिला बालबालिकामा अनुशासन र सुसंस्कारको बीउको रूपमा लिन सकिन्छ। त्यति धेरै संख्यामा र तपाईंहरूलाई पूरै विश्वास गर्ने त्यो समूहले तपाईंहरूको संगतबाट सिकेको सुसंस्कृत अभ्यास स्वच्छ र सभ्य समाज हुँदै समृद्ध देश निर्माणमा कोसेढुंगा सावित हुनेछ।

यो समाचार अनलाइन खवरबाट साभार गरिएको हो ।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.