भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

स्थानीय निर्वाचन २०७९

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

२०५४ सालपछि नेपालमा अर्को स्थानीय चुनाव हुन बीस वर्ष लाग्यो । यसपल्ट पनि स्थानीय चुनावको मतदान हुनुअगाडिसम्म यस सम्बन्धी अनेक संशय उब्जेका र आरोप–प्रत्यारोप चलेका थिए । तर चुनाव भयो र मतगणनाले स्थानीय निकायहरूमा देशका राजनीतिक खेलाडीहरूको जिम्मेवारी अदलबदल गरिदियो । यो चुनावले दस वटा प्रस्ट सन्देश दिएको छ ।

एक, मतदाताले बिस्तारै पार्टीभन्दा पनि उसले उठाएका उम्मेदवार हेरेर भोट हाल्न थाल्दै छन् । पाका मतदाताले समेत चुनाव चिह्न हेरेर एकछापे मत दिने क्रम क्रमशः घट्दो छ । युवाहरू त पार्टीहरूले दिएका उम्मेदवारहरूमध्ये कम खराबलाई भोट हाल्नभन्दा दुवै तहमा विकल्प खोज्न अग्रसर हुँदै छन् । त्यसो गर्दा यसपल्ट तीन ठूला सहरमा लोकप्रिय स्वतन्त्र मेयरहरूले जितेका छन् । अबका पाँच वर्षसम्म तिनले देखिने गरी दलीय मेयरहरूले भन्दा राम्रो काम गरे भने स्थानीय निकायहरूमा निर्दलीय प्रतिस्पर्धात्मक राजनीति संस्थागत हुने सम्भावना धेरै छ । राजनीतिक दलहरूमा झैं टिकटका लागि करोडौंको लेनदेन अनि कार्यकर्ता परिचालनमा अरू करोडौं खर्च नगरेकाले स्वतन्त्र उठेर जितेका मेयरहरू चाहेजसरी काम गर्न पनि स्वतन्त्र छन् । त्यसैले उनीहरूबाट आशा गर्ने ठाउँ पनि राम्रै छ ।

दुई, सामाजिक सञ्जाल चुनाव प्रचारको अभिन्न अंग बनेको छ । तर सञ्जालको लोकप्रियता स्वतः मतमा नबदलिन पनि सक्छ । मतदाताले पार्टीहरूले बनाएका छोटा टिकटक, फेसबुक र ट्वीटर प्रचार भिडियोहरू खुब हेर्छन् ! रमाइलो पनि मान्छन् तर भोट हाल्ने बेला कुन उम्मेदवारले समस्याहरूको जरोमा पुगेर समाधानको बाटो देखाउन सक्छ भन्ने बढी हेर्छन् । कसले कुन सञ्जाल बढी प्रयोग गर्छ र कसका भाषण ‘भाइरल’ हुन्छन् भन्दा पनि कसले सञ्जालमा वा सडकमा मानिसले बुझ्ने गरी उनीहरूका दैनिक समस्याको समाधानको बाटो देखाउँछ भन्ने कुराले धेरै महत्त्व राख्न थालेको छ ।

तीन, नेपालको राजनीति, तत्कालीन ठूलो दल नेकपा एमालेका नेताहरूले बारम्बार भनेझैं, दुई दलीय मार्गतिर लागेको छैन । बरु दोस्रो शक्ति प्रतिपक्ष र तेस्रो शक्ति ‘किङमेकर’ हुने बहुदलीय मार्गतिरै अघि बढ्दै छ । त्यसैले देशको राजनीतिक स्थिरता पनि तेस्रो शक्तिको सुझबुझ र धैर्यमा भर पर्ने देखिन्छ ।

चार, एमालेले आफ्ना सबै राजनीतिक अण्डा अध्यक्ष केपी ओलीको एउटै डोकामा राख्नुको मूल औचित्य जनमत बटुल्ने र चुनाव जित्ने उनको ‘करिज्मा’ थियो । ओलीको त्यस्तो चमत्कारी छविमा यो चुनावसँगै संशयको बादल मडारिइरहेको छ । पार्टीभित्रको लोकतन्त्र मासेर ओलीलाई सर्वशक्तिमान् बनाउने प्रक्रियामाथि पनि यो चुनावपछि प्रश्न उठ्ने देखिन्छ । यो र अब आउने संसदीय चुनावका लागि एमाले अध्यक्ष ओलीको सबैभन्दा ठूलो योगदान भने विप्लव र सीके राउतहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनमा खेलेको भूमिका हुनेछ । ती दुईमध्ये एउटा मात्रै दलले पनि चुनावमा हिंसा जारी राखेको भए त्यसले चुनावी रौनकलाई निकै खल्लो बनाउने निश्चित थियो ।

पाँच, शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सधैं धोद्रो लागेको रूखजस्तै थियो । तर प्रतिस्पर्धी दलहरूले पार्टीभित्रको लोकतन्त्र सखापै पारिसकेकाले आफूभित्र धिपधिपे भए पनि लोकतन्त्र बचाएको कांग्रेस सापेक्षतः गतिशील देखिन पुगेको थियो । यस पटकको गठबन्धनको बैसाखीले यही मौकामा नयाँ जराहरू फैलाउन कांग्रेसलाई मौका दिएको छ । आलम र आरजुहरूले ती जरालाई काटेनन् भने कांग्रेसको भविष्य उज्यालै देखिन्छ । दीर्घकालमा भने दोहनको राजनीतिमा विद्यावारिधि गरेको देउवा–पुस्ता ओझेल नपरुन्जेल कांग्रेसको सही पुनर्जागरण सम्भव छैन ।

आउँदो संसदीय चुनावपछि कांग्रेस सरकारमा फर्कने वा नफर्कने भन्ने कुरा फेरि एकपल्ट गठबन्धनको समीकरणमा भर पर्ने देखिन्छ । अघिल्लो चुनावमा झैं वामपन्थीहरू ध्रुवीकृत भए र वामपन्थी सरकार बनाए भने कांग्रेसले तत्काल क्षति भोग्नेछ तर दीर्घकालमा उसलाई फाइदा हुनेछ । तत्काललाई कांग्रेसीहरू संघ र धेरै प्रदेशको सत्ताबाट बाहिर रहन सक्छन् तर त्यो अवस्था पार्टीमा दोहनकारी देउवा–युगको पटाक्षेप गर्न सहयोगी हुनेछ । र कांग्रेस गठबन्धनको बैसाखीबिनै सरकारमा फर्कने सम्भावना बढेर जानेछ ।

, फेरि ‘किङमेकर’ बाट ‘किङ’ बन्ने इच्छाका कारण कित्ता परिवर्तन गरेनन् भने यो चुनावले पुष्पकमल दाहाललाई पनि दिगो राजनीति गर्न राम्रै अवसर दिने देखिन्छ । जर्मनीजस्ता देशहरूमा झैं गठबन्धनको सत्ता सामान्य बन्दै जाने हो भने त्यसलाई संस्थागत गर्न माओवादीजस्तो मध्य कदको पार्टीको धैर्य अनिवार्य बन्न जान्छ । तर माओवादी र एकीकृत समाजवादीले एउटै चुनावको परिणामपछि अधिकतम तत्कालीन लाभका लागि गठबन्धन अदलबदल गरे भने देशमा राजनीतिक अस्थिरता झनै लम्बिएर जानेछ ।

सात, राप्रपाको पछिल्लो महाधिवेशनपछि त्यो दलमा ‘लिङ्देन क्रान्ति’ भएकै थियो भने त्यसको परिणाम हेर्न अरू एकदुई चुनाव पर्खर्नैपर्ने हुन्छ । चुनावताका राप्रपाले आफूलाई राजा र हिन्दु धर्मको भन्दा पनि सुशासनको पार्टीका रूपमा देखाउने प्रयास गरेको थियो । कांग्रेस र एमालेप्रतिको वितृष्णालाई आफ्नो पक्षमा उपयोग गर्ने लिङ्देनको रणनीति थियो । तर यो चुनावले त्यसमा पनि लिङ्देनको पार्टी खासै सफल हुनेजस्तो देखाएको छैन ।

आठ, रवीन्द्र मिश्रको राजनीतिक यात्रामा यो चुनावले विराम लगाइदिएको छ, त्यो अल्पविराम होला वा पूर्णविराम भन्नेचाहिँ भविष्यले देखाउनेछ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएसँगै उज्ज्वल थापाले सुरु गरेको वैकल्पिक राजनीतिको अभ्यास अब नयाँ दोबाटामा प्रवेश गरेको छ । वैकल्पिक राजनीतिको फाँटमा स्वतन्त्र मेयरहरू उदाएसँगै कांग्रेस–एमाले–माओवादी कार्टेलबाट मुक्ति पाउने आम मतदाताको चाहनाले नयाँ माध्यम भेटिसकेकाले पनि विवेकशील साझाजस्ता दलहरूले व्यापक जनसमर्थन पाउनु अब थप चुनौतीपूर्ण बनेको छ ।

नौ, कुनै बेला चुनाव हारजितको कारण बन्न सक्ने मानिएका केही एजेन्डाहरू एकदुई महिनामा बासी र निरर्थक बनिसकेका छन् ! जस्तो कि, एमसीसीप्रतिको पक्षधरता । सामाजिक सञ्जालमा कुनै लहर चल्नासाथ त्यसैले देशको राजनीतिलाई उलटपुलट पार्ने भयो भनेर गरिने आकलन पनि अहिलेलाई गलत साबित भएको छ ।

दस, यो चुनावमा जसले जिते वा हारे पनि नेपालको लोकतन्त्र संस्थागत हुने क्रममा छ । तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दाताकाको राजनीतिक कलह, विग्रह र चुनावी प्रक्रियामाथिकै दाउपेचले नेपालको लोकतन्त्रलाई दिगो रूपमा क्षति गर्ने जोखिम देखिएको थियो । यो चुनावले त्यति बेलाका केही घाउ पुरे पनि दलहरूको परिपक्वताबिना नेपालको लोकतन्त्रमाथिको जोखिम हटेर जाने देखिँदैन । चुनावी प्रक्रियाका कुरा गर्नुपर्दा, अर्को चुनावसम्म पनि दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरू कागजी मतपत्रको अकुत कमिसनकै पछि लागे र विद्युतीय मतदानको व्यवस्था गरेनन् भने मतदाताले अझ धेरै स्वतन्त्र उम्मेदवारलाई जिताएर दलहरूलाई दण्डित गर्ने सम्भावना छ ।

अन्तमा, भारतमा बीजेपीले कांग्रेसमुक्त भारतको सपना देखेझैं नेपालमा पनि अघिल्लो संसदीय चुनावपछि उदाएको नेकपा सरकारले बीसौं वर्ष निरन्तर चल्ने कम्युनिस्ट पार्टीको सरकारको कल्पना गर्न थालेको थियो । तत्कालीन नेकपाभित्रकै बेमेलका कारण त्यो सम्भव भएन । यो चुनावपछि गठबन्धनहरू बदलिई वाम पार्टी एक भएर संसदीय चुनाव लड्ने ढोका अझ खुलै छ । तर स्थानीय चुनावमा कांग्रेस थप बलियो बनेकाले २०७४ पछि झैं अबको कांग्रेसले भावी वाम सरकारलाई राजनीतिको पूरा मैदान छाडिदिने देखिँदैन । त्यसैले अबको संघीय सरकार जस्तो बने पनि प्रतिपक्ष पहिलेको भन्दा बलियो बन्ने अपेक्षा गर्न सकिन्छ ।

यसरी दक्षिण एसियाका बाँकी सबैजसो देशमा लोकतन्त्र र नागरिक स्वतन्त्रता कुण्ठित हुँदै गरेका बेला नेपाल भने अब थप लोकतन्त्रीकरण र स्वतन्त्रताको विस्तारतिर जाने ढोका खुलेको छ । पार्टीहरूभित्रका तानाशाही संरचना नढलुन्जेल समाज र देशको असली लोकतन्त्रीकरण कठिन हुने हुँदा सबै पार्टीका युवाहरूको अबको साझा चुनौती भनेको आआफ्ना पार्टीका मक्किएका अलोकतान्त्रिक संरचनाहरू भत्काउनु हो । पार्टीभित्रका युवा त्यो काममा पछि परे भने पार्टीबाहिरका युवाहरूले ती पार्टीको सिंगो संरचना भत्काइदिने जोखिम अहिले देखिएको छ । यो चुनावको सबैभन्दा ठूलो सन्देशचाहिँ यही हो ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.