असारे लोक संस्कृति
3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी
वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष महिना हो । कामका हिसाबले मानो खाएर मुरी उब्जाउने दिनका रुपमा पनि लिने चलन छ । असार खेतीको पर्याय हो ।
असार खेतीसंगै वेठी बाजा,असारे गीत,हलो,गोरु,बाउसे,रोपाहार,दही चिउरा अनि हिलो यी हाम्रा असारे संस्कृति हुन् । असारलाई सुन्दर बनाउन यी सबै पक्षको संयोजन आवश्यक छ । आज असारहरु असार बन्न सकेका छैनन् । किनकी असारका सबै पक्षको संयोजन हुन सकेको छैन् ।
असारे संस्कृतिभित्रको महत्वपूर्ण पक्ष असारमा गाइने गीत पनि हो । जुन गीत अरु समयमा अर्थ राख्दैन र गाँइदैन पनि ।
निक्कै परिश्रम र मेहनत गर्नु पर्ने यो मौसममा थकानलाई बिर्साउने संस्कृति हो असारे गीत । रोपाईमा धानको बीउ रोप्नेलाई रोपाहार भनिन्छ । गोरुलाई दाउँदै खेत सम्याउने काम गर्नेलाई हली र खेतमा आली लगाउनेलाई बाउसे भन्ने चलन चल्ती नेपालको पूर्वी भूभागमा छ । धान रोप्दै विभिन्न लय र भावमा असारे गाउने काम रोपाहारले गर्छन, बाउसे र हलीले स्वरमा स्वर थपेर असारलाई असारजस्तै बनाउँछन् ।
रोपाहारहरुले गाएको असारे ठाडो भाकामा हली र बाउसेहरुले स्वर थपेर स्यावै लगाउने प्रचलन दोलखा आसपासका भूभागमा पाइन्छ । रोपाईँमा रसिया,होहोरी, असारे अनि घुमाउरो असारे ठाडो भाका भन्ने चलन रहेको छ ।।
असारको पन्ध्र दिन जाँदा रोपाईँको चटारो हो हो …..
राखेका लुगा झिकिदेउ आमा गौँथली पेटारो
शीरमा हेर्छु सुनको सेली छातीमा हेर्छु टाँक
ध्याम्पामा हेर्छु हवल्दार बाजै सामलको छैन फाँक
लसमा लस मसला पिँध्ने लोहोरी भए पो
एकोरी माया के गर्नु मैले दोहोरी भए पो हो हो री हो हो हो ।
दोलखा सुनखानीकी ७७ वर्षीया मनमाया शिवाकोटी अझै पनि यसरी होहोरी गीत गाउँदै हुनुहुन्छ । उहिले उहिले बेठी बाजाको तालमा दिनभर धान रोपाइँ गरेको याद झल्झली आउँछ उहाँलाई ।
आजभोलि यस्ता होहोरीहरु गाउँने जनहरु विरलै पाइन्छन् । होहोरी एक्लै उठान गर्ने चलन छ । अनि अन्तमा सबैले स्वरमा स्वर थपेर होहोरी हो हो भन्दै हातमा बिउको मुठासहित नाच्ने गरिन्छ । जीवनका वास्तविकता,भोगाई, पीर, पीडा, वेदना,हाँसो,खुसी पोखिन्छन् यस्ता गीतमा ।
आउँदा र जाँदा देख्नु भको होला चौघराको ठूलो घर
मेरो बालपनलाई एकछिन नदेख्दामा बरबर आँसु शिरानभर
मरिचै खानु लै पिरोको लागि स्वरै आउँछ बोझाले
जन्मेको ठाउँमा बासै भयो मेरो कालिनागको सोझाले
यो असारे ठाडो भाका हो । जुन गीत समुहले एकै पटक उठान र बैठान गर्छन् अनि अन्तिममा लामो स्वास जतिसकिन्छ तान्ने गरिन्छ । यो गीतमा गाउँको भूगोल र इतिहासलाई चिनाउन खोजिएको छ । दोलखा सुनखानीका स्थानीयले चौघर दरबार र कालिनाग मन्दिरको महिमा गीतमा गाइएको देखिन्छ । अन्य गीतमा बढीजसो दुःख,पीडा,मिलन,विछोड,धर्म,संस्कृति,भूगोल अनि पहिचान जोडेर टुक्का जोड्ने गरिन्छ ।
जब असार आउँछ असारे पारखीलाई असारे भाव उर्लिएर आउँछ । चाहे त्यो लेकमा होस या बेसी अनि पहाड होस या तराई भूगोल अनुसारको असारे संस्कृति सबै ठाउँमा पाइन्छ नै ।
बाबा ज्यूको गहिरी खेतमा मूलपानी टल्कने
हिराको माला पहेँला गाला लालमति ढल्कने
हो हो री हो हो …..होे………..……
रसिया यसरी गाउने चलन छ । यो चुट्के शैलीमा गाइन्छ । असारमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ । मौसमी वर्षातमा भरपर्नु पर्ने भएकै कारण नेपालमा असारमा धान रोप्ने गरिन्छ । रोपाईंका बेला कृषकहरुको निक्कै भ्याइनभ्याइमा हुन्छ । रोपाईंमा दिनभर थाकेका बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई बिर्सने प्रयास गर्छन् ।
हो हो हाहा हा का टी र कुटी मा र सी को चामल वे..तको हाहहा डा ..लीमा हो हो ..
ह जु र लाई भ नी फूल टि पि ल्याएँ ओइ लायो आ ली मा
हो हो हो हा हा हा
काटीमा कुटी मार्सीको चामल वेतको डालीमा
हजुरलाई भनी फूल टिपि ल्याएँ ओइलायो आलीमा हो हो री हो हो हो
यो असारे हो । यसलाई असारे मात्र भन्ने गरिन्छ । जुन भाका निक्कै स्वर तानेर गाउँनु पर्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । पहिलो चरणमा स्वरु निकाल्ने काम हुन्छ । ३ जना भन्दा वढीले स्वरु थप्दै लैजान्छन र सबैभन्दा पछि स्वर थप्नेले अन्तिममा मेटाउनु पर्छ । आजभोलि यो गीत गाउँघरमा गाउँनेहरु भेटिन छाडेका छन् । असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ ।
उकाली ज्यानको चप्लेटी ढुङ्गा गल्लाउँदा गल्दैन
घरको मान्छे नभिजेसम्म धानै फल्दैन हो हो री हो हो हो
खेतका गह्राहरुमध्ये सबैभन्दा ठूलो गह्रामा बिउका मुठाले गोलो घेरा बनाएर रोपाहार, बाउसे तथा हलीहरुले घरधनीलाई बीचमा ल्याएर हिलोको टिका लगाइ, हिलो छ्यापिदिने प्रचलन थियो । घरको मान्छे भिज्नु पर्छ भन्ने मान्यताले घरका सबैजना खलो गरो(सबैभन्दा ठूलो गरो जहाँ मंसिरमा दाइँ गरिन्छ) मा जम्मा भएर धान रोप्नु पर्ने र फूलपातीले पूजा गर्दै खलो बाँध्ने चलन थियो । बिउको जमरा र हिलोको टिका लगाएर लाट लोट बडा बोट भन्ने चलन थियो
सिँङ्गै बिउँको मुठो खलो गराको बीचमा रोपेर भकारी बाँध्ने भनिन्थ्यो ।
कतै रोपाहार रोपाहार बीच त कतै बाउसे र रोपाहार बीचको असारे दोहोरी रोपाईका लागि निक्कै चाख लाग्दो मानिन्छ । रोपाहार बाउसे रोपाइ अवधिभर मात्र नभएर गाउँवस्ती फर्कने समयसम्म दोहोरी गाउँने चलन अहिले विरलै मात्रामा पाइन्छ । तत्क्षण गीत सिर्जना गर्ने र स्वादिलो प्रतिउत्तर दिनु यसको अर्को महत्वपूर्ण विशेषता मानिन्छ ।
यी कला र संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन । यीनको संरक्षण र प्रवद्र्धन गर्न सके नेपालको मौलिकता संरक्षणमा सहयोग पुग्ने थियो ।
अहिलेको पुस्ताहरु अधिकाशं शहर तथा विदेशमा छन् । गाउँघर छाडेर बाहिरिनेहरुले नेपाली संस्कृति ग्रहण गर्ने अवसर प्राप्त गर्न सकेका छैन भने कतिपयलाई चासो पनि कम हुँदै गएको छ । यही प्रवृत्ति बृद्धि हुँदै जाँदा हाम्रा पहिचान बोकेका मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । लोक संस्कृति समाजको उपज हो । समाजको जीवन र वास्तविकता हो । अनि समाजको गहना र सम्पत्ति हो । यीनलाई जोगाउनु हामी सबैको कर्तव्य हो । अवको समयमा औपचारिक शिक्षासंगै लोकसंस्कृति संरक्षणका लागि व्यवहारिक शिक्षामा जोड दिन आवश्यक देखिएको छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...